सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते
विराटनगर। सिरहामा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार सिरहा नगरपालिका–४ रमौलका इद महमदका १५ वर्षीय छोरा मो. अम्माद र लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदायको करेन्ट लागेर मृत्यु भएको हो।
इनारबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका अम्मादको उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा निधन भएको प्रहरीले जनाएको छ। त्यस्तै, सदाय पनि आफ्नो घरमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। उनलाई स्थानीय अस्पताल पुर्याइए पनि बचाउन सकिएन।
यस्तै, आइतबार सिरहा नगरपालिका–४ रमौलकी ३० वर्षीया अफ्रोजा खातुन पनि पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी छन्। उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले विद्युत् प्रयोगमा सावधानी नअपनाउँदा यस्ता घटना बढ्दो क्रममा रहेको भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।