मोरङको मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। माछा मार्ने क्रममा करेन्ट लागेर ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुँडालका अनुसार दम्पती मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएका हुन्।

“बिजुलीको पोलबाट हुक गरेर खोलामा करेन्ट प्रवाह गर्ने क्रममा अचानक करेन्ट लाग्दा दुबै जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” डीएसपी चुँडालले जानकारी दिइन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीको टोली पुगेर कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।