उदयपुरमा मालपोत कार्यालयको गाडी दुर्घटना, ३ जना घाइते

उदयपुर। उदयपुरगढी गाउँपालिका–७ मा मालपोत कार्यालयको सवारी साधन दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। मंगलबार बिहान जिल्ला मालपोत कार्यालय बोक्सेतर्फ गइरहेको स १ झ ४८५ नम्बरको सुमो गाडी अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा चालक त्रियुगा नगरपालिका–७ का ४८ वर्षीय जीतबहादुर कार्की, मालपोत कार्यालयका खरिदार ४० वर्षीय तेजनारायण साह र उदयपुरगढी गाउँपालिका–५ की ४२ वर्षीया सरिता भण्डारी घाइते भएका छन्। घाइते तीनै जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला मालपोत कार्यालय प्रमुख ढुगेन्द्र बरालसहित ८ जना कर्मचारी र २ जना स्थानीय गरी १० जना सुमो गाडीमा सवार थिए। उनीहरू जग्गा मूल्याङ्कनको कार्य सम्पन्न गरी फर्कने क्रममा उक्त गाडी दुर्घटना भएको हो।

दुर्घटनाको समय गाडी सडक किनारमा रोकिएको अवस्थामा ६ जना यात्रु शौच गर्न बाहिर निस्केका थिए। सोही बेला गाडी अनियन्त्रित भई पल्टिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।