धरानमा कोशीको पानी ल्याउने योजनाको बजेटप्रति मेयर साम्पाङ असन्तुष्ट
विराटनगर। कोशी नदीको पानी धरान ल्याउने योजना अन्तर्गत सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि जनाएका छन्।
मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत चार करोडको बजेटले काम नहुने स्पष्ट पार्दै बरु श्रमदानबाटै पानी ल्याउने बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, “कोशीको पानीको लागि ४ करोड मात्रै? लु भो सरकार तिम्रो पैसा हाम्लाई चाहिएन! म श्रमदानबाटै पानी खुवाउँला बरु भो! उस्स्स्स तिम्रो योजना!”
संघीय सरकारले धरानको खानेपानी समस्या समाधान गर्न चार करोड रुपैयाँ विनियोजन गरेको हो। खानेपानी मन्त्रालयको बजेटमा मेयर साम्पाङले उठाउँदै आएको माग समेटिएको बताइएको छ।
कोशीको पानी ल्याउन संघीय सरकारको सहयोग आवश्यक पर्ने भन्दै साम्पाङ केही महिनाअघि रित्तो गाग्री बोकेर काठमाडौं समेत गएका थिए। यद्यपि सरकारले विनियोजन गरेको बजेट पर्याप्त नहुने भन्दै उनले सार्वजनिक रुपमा असन्तुष्टि जनाएका हुन्।