‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला
विराटनगर/ शुक्रवार रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली सिनेमा ‘महाभोज’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका सिनेमा हलहरूले बुकिङ खुलाएका हुन्। दुई साता अघि नै रिलिज तय भएको यो सिनेमा राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण सरेर जेठ ३० गते रिलिज हुने भएको हो।
वितरकहरूका अनुसार सिनेमाले प्रारम्भिक चरणमै करिब २ सय शो प्राप्त गरेको छ। काठमाडौँ, पोखरा र बुटवलमा गरिएको प्रिभ्यु प्रिमियरबाट सिनेमा प्रति सकारात्मक प्रतिक्रिया आएको बताइएको छ। विशेषगरी प्रिभ्यु शोहरूमा केही सहकारी पीडितहरूले पनि सिनेमा हेरेका थिए। उनीहरूले आफ्नो दबिएको आवाजलाई सिनेमाले ठूलो स्वरमा अभिव्यक्त गरेको प्रतिक्रिया दिएका छन्। साथै, यस्तो सामाजिक सन्देश बोकेको सिनेमालाई धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने उनीहरूको भनाइ छ।
विकास सुवेदीको लेखन र दिनेेश राउतको निर्देशनमा बनेको यस सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय रहेको छ। विशेष भूमिकामा सुरक्षा पन्त पनि देखिनेछिन्।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार गरिएको यस सिनेमाका निर्माता हिमाल कडरिया हुन्।