‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते रिलिज हुने

बिराटनगर । सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ ले नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ । निर्माणपक्षका अनुसार अब यो सिनेमा आगामी मंसिर १८ गते देशभर प्रदर्शनमा आउने भएको हो ।

यसअघि पटक–पटक रिलिज मिति तय भए पनि जेनजी आन्दोलन, बाढी–पहिरो तथा अन्य चलचित्रको बाक्लो लाइनअपका कारण सिनेमा निर्धारित समयमा प्रदर्शन हुन सकेको थिएन । नयाँ मिति सार्वजनिक गर्दै निर्माण टिमले नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा अधिकांश कलाकारलाई फिचर गरिएको छ ।

पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायतका कलाकारलाई देख्न सकिन्छ ।

निर्माता विनोद पौडेलले भने, “हामीले अब मंसिर १८ गते प्रदर्शनमा ल्याउने निर्णय गरेका छौँ । सबैको सल्लाह र सुझावअनुसार यो मिति निश्चित गरिएको हो । सिनेमा सफलताका लागि सबैको सहयोगको अपेक्षा राखेका छौँ।”

सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायत कलाकार मुख्य भूमिकामा छन् ।

सिनेमा निर्देशन सुशान्त गौतमले गरेका हुन् भने मदन थापा क्रिएटिभ निर्देशक हुन् । कथा मुकेश खनालले लेखेका हुन् ।

यसका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

लाइन प्रोड्युसर जीवन शाक्य, डिओपी शरद महतो, भिएफएक्स मनोज श्रेष्ठ, रंग संयोजन जुनिम गहतराज र सम्पादन मदन घिमिरेले गरेका छन् ।

सिनेमा एक्शन, ड्रामा र भावनात्मक कथावस्तुमा आधारित रहेको बताइएको छ ।

Add a Comment