सुन–चाँदी व्यवसायी संघको आन्दोलनलाई मोरङ उद्योग व्यापार संघको समर्थन

विराटनगर। नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङ विराटनगरले सरकारले लगाएको कर विरुद्ध जारी राखेको आन्दोलनलाई मोरङ उद्योग व्यापार संघ विराटनगरले औपचारिक समर्थन जनाएका छन्। उद्योगी–व्यवसायीको सबैभन्दा पुरानो संस्था मोरङ उद्योग व्यापार संघको समर्थनसँगै व्यवसायीहरुको आन्दोलन थप सशक्त र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

मोरङ उद्योग व्यापार संघ विराटनगरका उपाध्यक्ष विकास बेगवानीले सरकार व्यवसायीहरुको माग सम्बोधन नगरेसम्म आन्दोलनलाई अझ उच्च स्तरमा पुर्‍याउने दृढता व्यक्त गरेका छन्। उनले आन्दोलनलाई साथ, सहयोग र समर्थन रहने स्पष्ट पारेका हुन्।

नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङ विराटनगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुनका गहनामा लागू गरेको अव्यवहारिक कर नीति फिर्ता नलिएसम्म आन्दोलन जारी रहने जनाएको छ। संघले बिहीबार र शुक्रबार दुई दिन पसल बन्द गरेर प्रदर्शन गरेको थियो। यसबाहेक संघीय सरकार र कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र समेत बुझाइसकेको जनाएको छ।
व्यवसायीहरुको प्रमुख मागमा सुनका गहनामा लगाइएको २ प्रतिशत विलासी कर र हिरा–जवाहरात जडित गहनामा लागू भएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नु पर्ने रहेको छ। उनीहरुले भारत सरह नेपालमा पनि समान कर नीति अवलम्बन गर्नुपर्ने र दीर्घकालीन रुपमा सुन कारोबार प्रोत्साहन गर्न नयाँ ऐन, नियम तथा नीति निर्माण गर्नुपर्ने माग गरेका छन्।

हाल सरकारले सुन आयातमा १० प्रतिशत भन्सार राजस्व कायम गरेको छ। त्यसमाथि आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट प्रत्येक सुनको गहनामा थप २ प्रतिशत विलासी कर र १३ प्रतिशत भ्याट लागू गरिएको छ। भारतमा सुनमा जम्मा ६ प्रतिशत कर रहेको हुँदा नेपालमा उच्च करका कारण नेपाली व्यवसायी अस्वस्थ प्रतिस्पर्धामा परेको र तस्करी बढ्ने खतरा रहेको उनीहरुको भनाइ छ।

पत्रकार सम्मेलनमा नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङ विराटनगरका अध्यक्ष शशिभूषण साह, सल्लाहकार जुगलकिशोर राठी, महासचिव अमलेश अग्रवाल, नेपाल सुन–चाँदी व्यवसायी महासंघ कोशी प्रदेशका कोषाध्यक्ष मनोज अग्रवाल, प्रदेश सदस्य महेशकुमार स्वर्णकार लगायतको उपस्थिति रहेको थियो।

Add a Comment