पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना, २ जनाको मृत्यु
विराटनगर । पाल्पाको पूर्वखोला गाउँपालिका–५ वीरकोटस्थित आर्यभन्ज्याङ–रामपुर कच्ची सडकखण्डमा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका–११ मझुवामा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका–७ का ४८ वर्षीय रेशम सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
सोमबार बेलुका आर्यभन्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि करिब ३०० मिटर तल खसेको थियो । गम्भीर घाइते ढुङ्गानालाई लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएको थियो भने सुनारलाई युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि पुर्याइएको थियो । दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा जीप चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।