झापामा जंगली हात्तीको आक्रमण, एक युवक गम्भीर घाइते

विराटनगर। झापाको भद्रपुर नगरपालिका–१० फुलबारी गाउँमा जंगली हात्तीको आक्रमणमा परेर एक युवक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय २१ वर्षीय विशाल सोरेन रहेका छन्। उनी फुलबारीस्थित कार्यस्थलबाट साँझ करिब ७:४५ बजे घर फर्कँदै गर्दा जंगली हात्तीको आक्रमणमा परेका हुन्। हात्तीको आक्रमणबाट सोरेनको कम्मर, टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको छ।

घाइते अवस्थामा रहेका उनलाई तत्कालै प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको छ। अस्पताल स्रोतका अनुसार अहिले सोरेनको स्वास्थ्य अवस्था मध्यम रहेको छ र उनी बोल्न सक्ने अवस्थामा छन्। उपचारका क्रममा उनका हजुरबुवा समेत अस्पतालमा उपस्थित रहेको जनाइएको छ।

फुलबारीमा बढ्दो जंगली हात्तीको त्रास

फुलबारी क्षेत्र वन नजिकै रहेको हुँदा यहाँ बारम्बार जंगली हात्ती प्रवेश गर्ने घटना हुने गरेका छन्। यसअघि पनि खेतबारी तथा बस्तीमा हात्ती पसेर क्षति पुर्याउने घटनाहरू घटिसकेका छन्।

स्थानीय बासिन्दाहरूले वन कार्यालय र सुरक्षा निकायसँग जंगली जनावर नियन्त्रण तथा व्यवस्थापनका लागि तत्काल कदम चाल्न माग गरेका छन्। समयमै उपाय नअपनाए जनधनको क्षति बढ्ने खतरा रहेको उनीहरूको भनाइ छ।