कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८२ सुरु
विराटनगर। कोशी प्रदेशमा शुक्रबारदेखि ट्राफिक सप्ताह २०८२ सुरु भएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको आयोजनामा सप्ताह सुरु गरिएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरस्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा कार्यक्रमको उद्घाटन गरे। उद्घाटनभन्दा अघि विराटनगरको महेन्द्रचोकबाट प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त र्यालीले नगरक्षेत्रको विभिन्न भाग परिक्रमा गर्दै कार्यक्रम स्थल पुगेको थियो।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमडिया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख डिएसपी सन्तोष श्रेष्ठ, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै डिएसपी सन्तोष श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा (साउनदेखि जेठसम्म) कोशी प्रदेशमा ३८१ जनाको सवारी दुर्घटनामा मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरे।
मुख्यमन्त्री कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, प्रमुख जिल्ला अधिकारी यादव लगायतले सवारी चालकहरूलाई जिम्मेवारीपूर्वक गाडी चलाउन आग्रह गरे। उनीहरूले सवारी दुर्घटनाबाट सर्वसाधारणले ज्यान गुमाउने र अङ्गभङ्ग भई जीवनयापन गर्नुपरेको घटनाप्रति दुःख व्यक्त गरे।
कार्यक्रममा लायन्स क्लब अफ विराटनगर ग्रिन सिटीका अध्यक्ष श्यामलाल पौडेल (भवेष), महिला पतञ्जली योग समिति मोरङका अध्यक्ष सुची चौधरी, उपाध्यक्ष सारदा थापा, अप्पन विराटगढ परोपकार समाजकी अध्यक्ष बसुन्धरा झालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ विराटनगर ग्रिन सिटीले ट्राफिक व्यवस्थापनमा सरोकारवाला निकायसँग सहकार्य गर्दै आइरहेको र ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने व्यक्तिहरूलाई कार्यक्रममा सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।