अनलाइन टिभी पत्रकार सङ्घ नेपाल, कोशी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

विराटनगर। अनलाइन टिभी पत्रकार सङ्घ नेपाल, कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन मोरङको उर्लाबारीमा सम्पन्न भएको छ। अधिवेशनले मोरङका पत्रकार किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति सर्वसम्मतरूपमा चयन गरेको हो।

नवगठित समितिमा झापाका खगेन्द्र घिमिरे उपाध्यक्ष, मोरङका सरोज बस्नेत सचिव, सुनसरीका विनोद राना मगर सहसचिव र मोरङकी सम्झना राई कोषाध्यक्षमा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा किशोर निरौला, विजय भट्टराई, अफ्ताप अली र निशान ढकाल चयन भएका छन्।

२०७६ सालमा युवा पत्रकार तथा पत्रकारिता शिक्षक जीवन भण्डारीको नेतृत्वमा काठमाडौँमा स्थापना भएको अनलाइन टिभी पत्रकार सङ्घ नेपालमा इन्टरनेटमार्फत भिडियो पत्रकारिता गर्ने पत्रकारहरूको प्रतिनिधित्व रहेको छ।

अनलाइन टिभीहरूलाई व्यवस्थित बनाउने, पत्रकारहरूको हकहित संरक्षण गर्ने र स्वनियमन निर्देशिका जारी गरी पत्रकारितामा उत्तरदायित्व र व्यावसायिकता कायम गर्ने उद्देश्यका साथ सङ्घ सक्रिय रहँदै आएको छ।

सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीका अनुसार हालसम्म दुई प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ भने अन्य प्रदेशमा पनि निकट भविष्यमा अधिवेशन सम्पन्न गर्ने गृहकार्य भइरहेको छ। हालसम्म १५ जिल्लामा शाखा विस्तार भइसकेको र अबको केन्द्रीय अधिवेशनपछि शाखा विस्तारलाई थप तीव्रता दिने योजना रहेको रेग्मीले जानकारी दिए।

सङ्घले हालसम्म अनलाइन टिभीकर्मीहरूलाई विभिन्न विषयमा तालिम प्रदान गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा समेत ध्यान केन्द्रित गर्दै आएको छ।

Add a Comment