विराटनगरमा असार ७ गतेदेखि कोशी प्रदेश स्तरीय योग खेलकुद प्रतियोगिता हुदै

विराटनगर। विराटनगरमा आगामी असार ७ गतेदेखि कोशी प्रदेश स्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको हो।

प्रतियोगितालाई सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जुन सम्पूर्ण रकम प्रदेश खेलकुद विकास बोर्डले बेहोर्ने जानकारी गराइएको छ।

प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार ७ गते शनिबार विराटनगरस्थित होटल मनास्लु ईनमा गर्नुहुने कार्यक्रम तय भएको छ। प्रतियोगितामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ, पतञ्जली योग समिति मोरङ, जीवन विज्ञान, ब्रह्मकुमारी राज योग सेवा केन्द्र विराटनगर, मनोक्रान्ति, इन्टरनेशनल नेप्लिज कम्युनिटी, ओशो, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज सह-आयोजकको रुपमा रहने छन्।

प्रतियोगिताको मुख्य इभेन्ट ‘फ्रिस्टाइल योग आसन’ हुनेछ। यसअन्तर्गत अगाडि झुक्ने, पछाडि झुक्ने, घुमाउने, हात र खुट्टाको सन्तुलनसम्बन्धी विभिन्न विधाहरू समावेश गरिनेछ।

प्रतियोगितामा ५० जना प्रतियोगी सहभागी हुने छन् भने ६ सय जना दर्शक तथा स्वयंसेवकहरूको उपस्थिति रहने आयोजकले जनाएका छन्। प्रतियोगिता तीन फरक उमेर समूहमा विभाजन गरेर आयोजना गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने पुरुषलाई ‘मिस्टर योगी’ र महिलालाई ‘मिस योगी’ को उपाधि प्रदान गरिनेछ।

प्रतियोगिताको विस्तृत जानकारी गराउने उद्देश्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष दामोदर पोखरेल, सचिव कृष्णप्रसाद पोखरेल, महिला पतञ्जली योग समिति मोरङकी अध्यक्ष तथा कांग्रेस नेतृ सुची चौधरी, उपाध्यक्ष सारदा थापा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका वरिष्ठ कविराज निरीक्षक बैजनाथ साह लगायतको उपस्थिति रहेको थियो।

Add a Comment