आज प्रतिनिधि सभाको बैठक बस्दै
विराटनगर।प्रतिनिधिसभामा आज ‘विनियोजन विधेयक, २०८२’ अन्तर्गत विभिन्न मन्त्रालयहरुको वार्षिक विनियोजन तथा खर्च कटौती प्रस्तावमाथि छलफल हुने भएको छ।
संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि तय गरिएको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, खानेपानी, स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची तय गरिएको छ।
यससँगै विभिन्न मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछन्।
सांसद डा. अमरेशकुमार सिंहले संघीय मामिला, ऊर्जा, रक्षा, स्वास्थ्य, शिक्षा, परराष्ट्र, श्रम, गृह र सञ्चार मन्त्रालयको शीर्षक खर्च रकमलाई घटाइ रू १ कायम गरियोस् भन्ने प्रस्ताव राख्ने छन्। सांसद प्रेम सुवालले पनि ती सबै मन्त्रालयसहित खानेपानी मन्त्रालयको शीर्षक खर्च रकमलाई घटाइ रू १ कायम गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन्।
त्यस्तै, सांसद अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको खर्च रकम घटाइ रू १ कायम गरियोस् भन्ने प्रस्ताव राख्ने छन् भने सांसद प्रभु साहले ऊर्जा, स्वास्थ्य र खानेपानी मन्त्रालय शीर्षक खर्च रकम घटाउने प्रस्ताव प्रस्तुत गर्ने छन्।
सांसद माधव सापकोटाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको खर्च रकममा रू १०० घटाइयोस् भन्ने प्रस्ताव र सांसद रणेन्द्र बरालीले रक्षा मन्त्रालयको खर्च रकममा रू १०० घटाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
सांसद ज्ञानु बस्नेत सुवेदीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खर्च रकममा रू १०० घटाउने प्रस्ताव र सांसद उर्मिला माझीले खानेपानी मन्त्रालयको खर्च रकम घटाइ रू १ कायम गरियोस् भन्ने प्रस्ताव राख्नेछन्।
त्यसैगरी, सांसद हितबहादुर तामाङले शिक्षा मन्त्रालय शीर्षक खर्च रकम घटाइ रू १ कायम गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। सांसद अम्मरबहादुर थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको खर्च रकममा रू १०० घटाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
सांसद छिरिङ ल्हामुलामा तामाङले परराष्ट्र मन्त्रालय र सांसद नारायणी शर्माले श्रम मन्त्रालयको खर्च रकम घटाइ रू १ कायम गरियोस् भन्ने प्रस्ताव पनि आजको कार्यसूचीमा समावेश छ।
सांसद चित्रबहादुर केसीले गृह मन्त्रालयको खर्च रकम घटाउने प्रस्ताव र सोही मन्त्रालयको शीर्षक खर्च रकममा रू १०० घटाइयोस् भन्ने अर्को प्रस्ताव पनि बैठकमा पेस हुने संसद सचिवालयले जनाएको छ।
संसदमा बजेट माथिको विस्तृत छलफल र संशोधन प्रस्तावमार्फत खर्च कटौतीसम्बन्धी माग उठ्दै आएको छ।