आज विश्वभर ‘विश्व फोटोग्राफी दिवस’ मनाइँदै
विराटनगर । हरेक वर्ष अगस्ट १९ का दिन मनाइने ‘विश्व फोटोग्राफी दिवस’ आज विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। फोटोग्राफीमा रुचि राख्नेहरूलाई प्रोत्साहन गर्ने र यसलाई व्यवसायिक रूपमा अंगीकार गरेका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ।
संसारको पहिलो तस्वीर सन् १८२६ मा फ्रान्सका जोसेफ नाइस्पार नाइप्सीले हेलियोग्राफी प्रविधि प्रयोग गरी खिचेका थिए। त्यतिबेला एउटा तस्वीर खिच्न निकै समय लाग्ने गर्थ्यो। तर समयसँगै फोटोग्राफीको तरिका र स्तरमा ठूलो परिवर्तन आएको छ।
फोटोग्राफीको विकासक्रम हेर्दा प्रारम्भमा रिल क्यामरादेखि डिजिटल क्यामरासम्म र अहिले मोबाइल फोनकै क्यामरासम्म प्रविधि पुगेको छ। आजको समयमा फोटो खिच्नु कुनै गाह्रो काम नभई दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ।
‘विश्व फोटोग्राफी दिवस’ ले फोटोग्राफीलाई सिर्जनात्मक अभिव्यक्ति, स्मृतिको संरक्षण र समाजसँग संवाद गर्ने माध्यमका रूपमा थप प्रोत्साहन दिएको छ।