रौतहटमा बस दुर्घटना, ७ भारतीयसहित १० जना घाइते

विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा आज बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये ७ जना भारतीय नागरिक छन्।

काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको यात्रुबाहक बस बिहान साढे ४ बजे आफैं अनियन्त्रित भई सडकबाट करिब ७ फिट तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक रायका अनुसार बसमा २५ जना सवार थिए। दुर्घटनामा भारतको सितामढी जिल्लाकी ४४ वर्षीया रेखा देवी, २२ वर्षीया जहदेवी झा, ११ वर्षीय बिसु कुमार पटेल, दरभंगा जिल्लाका २६ वर्षीय मोहमद अमज र मोहमद अकिल, ३८ वर्षीया नरगिस खातुन र २ वर्षीय आयस प्रतिक घाइते भएका छन्।

त्यसैगरी नेपालका धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का २३ वर्षीय अनुष्का निगम, जनकपुरका ३५ वर्षीया सन्तोषी ठाकुर र महोत्तरी जलेश्वर नगरपालिका–४ की ४३ वर्षीया पुनम ठाकुर पनि घाइते भएको प्रहरी स्रोतले जनाएको छ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

बस अनियन्त्रित भई सडकबाट तल खस्नुको कारण भने खुलाइएको छैन। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Add a Comment