३४ दिनपछि सार्वजनिक हुँदै कांग्रेस सभापति देउवा
विराटनगर । जेनजी युवाको आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुँदैछन्। उनी आज दिउँसो हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने भएका हुन्।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ। सो बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई पनि बोलाइएको छ।
जेनजी युवा आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण तथा आगजनी भएको थियो। उक्त घटनामा देउवा दम्पत्ति घाइते भएका थिए। लामो समय अस्पतालमा उपचार गराएर हाल आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलो पटक पार्टीको बैठकमार्फत् सार्वजनिक हुन लागेका हुन्।
केन्द्रीय कार्यसमिति बैठकअघि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक पनि बस्ने भएको छ। उक्त बैठकले केन्द्रीय समितिमा पेस गर्न साझा एजेन्डा तय गर्ने बताइएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिर भित्र १५औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने बताएका छन्।
