झापा र इलामबाट लागुऔषधसहित ५ जना पक्राउ

बिराटनगर/ झापा र इलाम जिल्लाबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीको सक्रियतामा विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जेठ १३ गते, झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कनकाई नगरपालिका–५ का २५ वर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका–९ का २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बु रहेका छन्। उनीहरू मे. ५ प ९६४५ नम्बरको मोटरसाइकलमा सवार थिए।

त्यसैगरी, प्रहरी चौकी बाघखोरले झापाकै दमक नगरपालिका–३ का २९ वर्षीय किरण राई र भारत बिहारका ३६ वर्षीय मनिश कुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

अर्को घटना अनुसार, इलामको चुलाचुली गाउँपालिका–४ स्थितबाट प्रहरी चौकी पेल्टिमारीले प्र.१–०१–०१३ प ५४८३ नम्बरको मोटरसाइकल चालक, स्थानीय २० वर्षीय अन्जन राईलाई ८५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेकाहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।