भारतमा बन्धक बनाइएका थप २२ नेपालीको उद्धार, ९ नाबालिग
विराटनगर। आकर्षक रोजगारीको झुठो प्रलोभनमा परेर भारतमा बन्धक बनाइएका थप २२ नेपालीको उद्धार गरिएको छ।
उत्तराखण्डको काशिपुर क्षेत्रबाट नेपाली राजदूतावास, भारतीय प्रहरी र ‘किन इन्डिया’ सामाजिक संस्थाको टोलीले आइतबार साँझ ती नेपालीहरुको उद्धार गरेको हो।
किन इन्डियाका निर्देशक नविन जोशीका अनुसार उद्धार गरिएकामध्ये ९ जना नाबालिग छन् भने अन्य १३ जना १८ वर्षमाथिका छन्। बन्धक बनाउने गिरोहले उद्धार टोली आउँदै गरेको थाहा पाएपछि केही नेपालीलाई जंगल क्षेत्रमा भगाउने प्रयास गरेका थिए, त्यही क्रममा टोलीले उनीहरूलाई उद्धार गरेको जोशीले जानकारी दिए।
यसअघि गत बिहीबार पनि काशिपुरबाट ३५ जना नेपाली युवकको उद्धार गरिएको थियो। उनीहरूलाई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर मंगलबारसम्म नेपाल फर्काउने तयारी भइरहेको छ।
जोशीका अनुसार गिरोहले हाल ५ सयभन्दा बढी नेपालीलाई बन्धक बनाएको जानकारी उनीहरूसँग प्राप्त भएको छ। ‘एक महिनासम्म लगातार प्रयासपछि ३५ जना नेपाली उद्धार गरेका थियौं, अब थप २२ जना पनि हाम्रो सम्पर्कमा आएका छन्,’ उनले भने।
उक्त गिरोहमा संलग्न एक नेपाली र दुई भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूविरुद्ध थप अनुसन्धान जारी रहेको जोशीले जानकारी दिए।
बन्धक बनाइएका नेपालीलाई कुटपिट, यातना र विभिन्न शीर्षकमा रकम असुल्ने गरिएको पाइएको छ। गिरोहले हरेक नेपालीबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुलेको खुलेको छ।
उनीहरूलाई आकर्षक जागिरको आश्वासन दिई भारत पुर्याउने र त्यसपछि बन्धक बनाएर यातना दिने गरिएको छ।
परराष्ट्र मन्त्रालयको निर्देशनमा भारतस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’को सहयोगमा गत बिहीबार ३५ जनाको उद्धार गरिएको थियो।
जोशी विगत १५ वर्षदेखि दिल्लीमा रही मानव बेचबिखन तथा तस्करीविरुद्ध सक्रिय छन्। उनले नेतृत्व गरेको संस्थाले विभिन्न समयमा भारत तथा तेस्रो मुलुकमा अलपत्र परेका सयौं नेपालीको उद्धार गर्दै आएको छ।