मोरङ उद्योग व्यापार सङ्घले मौद्रिक नीतिमा सुधारको माग गर्दै पत्रकार सम्मेलन

विराटनगर। मोरङ उद्योग व्यापार सङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा विभिन्न क्षेत्रको सुधार र सहजताका लागि ध्यान दिन माग गरेको छ। आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सङ्घले आर्थिक सुस्तता र उद्योग–व्यवसायमा देखिएका समस्याको समाधानका लागि स्पष्ट सुझावहरू सार्वजनिक गरेको हो।

सङ्घले घरजग्गा कारोबारमा आएको मन्दी हटाउन हालको ५० प्रतिशत कर्जा सीमा बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको छ। यसले घरजग्गा कारोबार पुनः चलायमान हुने विश्वास सङ्घले व्यक्त गरेको छ।

त्यस्तै, उत्पादनमूलक उद्योगहरूका लागि चालु पुँजी कर्जा सुलभ बनाउने तर्फ जोड दिँदै चालु पुँजी कर्जाको ब्याजदर स्थिर पुँजी कर्जाको भन्दा कम हुनुपर्ने माग पनि गरिएको छ। उत्पादन क्षमताको विस्तार र सञ्चालनमा सहजता ल्याउन कर्जाको ८० प्रतिशत हिस्सा चालु पुँजीका रूपमा उपलब्ध गरिनुपर्ने सुझाव संघले दिएको छ।

साना तथा मझौला उद्योगहरूको पहुँचलाई विस्तार गर्न कर्जा सीमा हालको २ करोडबाट बढाएर ५ करोड पुर्याउनुपर्ने माग पनि संघको प्राथमिकतामा परेको छ।

डिजिटल कारोबारको प्रवर्द्धनका लागि हाल बैंक तथा डिजिटल वालेट कम्पनीहरूले लिने शुल्कलाई पनि परिमार्जन गर्न संघले आग्रह गरेको छ। संघका अनुसार, एक हजार रुपैयाँसम्मको कारोबारमा कुनै शुल्क नलाग्ने, एक हजारदेखि एक लाख रुपैयाँसम्मको कारोबारमा १० रुपैयाँ र एक लाखभन्दा माथिको कारोबारमा २० रुपैयाँ शुल्क लिने व्यवस्था मिलाइनुपर्ने माग गरिएको छ।

यस्तै, अत्यधिक बैंक बिदाले उद्योग–व्यवसायमा असर पार्ने हुँदा साप्ताहिक बिदाबाहेक वार्षिक अधिकतम १३ दिन मात्र बैंक बिदा दिनुपर्ने नीति ल्याउनुपर्ने संघको भनाइ छ।

संघले मौद्रिक नीतिमा पुँजी बजार, घरजग्गा कारोबार, कर्जा प्रवाह र डिजिटल भुक्तानी प्रणालीमा सुधार र सहजता ल्याइ समग्र अर्थतन्त्रलाई गतिशील बनाउन राष्ट्र बैंकसँग आग्रह गरेको छ।