मुग्लिन सडक खण्डमा रोकिएको यातायात पुनः सञ्चालन, जोखिमपूर्ण ढुङ्गा हटाइयो
विराटनगर। नारायणगढ–मुग्लिन सडक खण्डमा अड्किएको ढुङ्गा हटाउने कार्य सम्पन्न भएसँगै यातायात पुनः सामान्य भएको छ। आज बिहानदेखि बन्द गरिएको उक्त सडक खण्डमा अहिले दुईतर्फी सवारीसाधन नियमित रूपमा सञ्चालनमा रहेका छन्।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित तुइनभिरमा अड्किएर बसेको जोखिमपूर्ण ढुङ्गा हटाउन आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि सडक बन्द गरिएको थियो। तर काम नसकिएकाले समय थप्दै दिउँसो ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिएको थियो।
“माथिबाट कुनै पनि बेला ढुङ्गा खस्ने सम्भावना भएकाले सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी स्काभेटरको सहायताले लामो बुम प्रयोग गरी ढुङ्गा हटाइएको हो,” आचार्यले जानकारी दिए।
ढुङ्गा हटाइएपछि अहिले नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी आवतजावत सामान्य रहेको र कुनै दुर्घटना नभएको उनले पुष्टि गरेका छन्।
सडकमा वर्षाको कारण पहिरो र ढुङ्गा खस्ने सम्भावना उच्च हुने भएकाले सडक प्रयोग गर्ने सवारीधन र यात्रुहरूलाई सतर्क रहन पनि सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।