चोरी भएको मोटरसाइकलसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर। विराटनगरबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति मोरङको बेलबारी नगरपालिका–६ निवासी ३७ वर्षीय किसन चौधरी रहेका छन्।

प्रहरीका अनुसार जेठ २८ गते विराटनगर महानगरपालिका–२ स्थित हिमालयन बैंकको अगाडि पार्किङ गरिएको को ३९ प ४१५० नम्बरको मोटरसाइकल हराएको थियो। सोही मोटरसाइकल चढेर गइरहेको अवस्थामा चौधरीलाई प्रहरीले बिहीबार कटहरी गाउँपालिका–१ बाट नियन्त्रणमा लिएको हो।

विराटनगरमा पछिल्ला दिनमा मोटरसाइकल चोरीको घटना दोहोरिन थालेको प्रहरीले जनाएको छ। बजार क्षेत्र, सडक छेउ र घर परिसरमा राखिएका मोटरसाइकल समेत चोरी हुने गरेका छन्।

केही साताअघि मात्र विराटनगरको पिपलचोकस्थित एक शोरुमबाट नयाँ कार चोरी भएको थियो, जुन प्रहरीको सक्रियतामा सुनसरीबाट फेला परेको थियो।

प्रहरीले मोटरसाइकल चोरीमा संग्लन अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको जनाएको छ।

Add a Comment