विराटनगरमा सुन व्यवसायीले गरे आन्दोलन, पसल अनिश्चितकालीन रूपमा बन्द
विराटनगर। नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको बजेटमार्फत सुनको कारोबारमा थप कर लागु गरेपछि सुन व्यवसायी आन्दोलित बनेका छन्। सरकारको नयाँ कर नीतिको विरोधमा नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङले शुक्रबार (असार १३ गते)देखि अनिश्चितकालका लागि सुन पसल बन्द गरेका छन्।
सरकारले सुनको प्रत्येक खरिद–बिक्रीमा २ प्रतिशत बिलासी कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेको छ। यसअघि नै सुन आयातमा १० प्रतिशत भन्सार शुल्क कायम रहेको अवस्थामा थप करको बोझले व्यवसाय सञ्चालन असहज भएको व्यवसायीहरूको गुनासो छ।
बन्दको पहिलो दिन शुक्रबार बिहानैदेखि विराटनगरका सम्पूर्ण सुन पसलहरू बन्द राखिएका थिए। साँझपख व्यवसायीहरूले नेपाल सुन–चाँदी व्यवसायी संघको कार्यालयबाट विरोध र्याली निकालेर नगरको विभिन्न भाग परिक्रमा गरेका थिए। विरोध र्याली बुधहाट चौक पुगेर विरोध सभामा परिणत भएको थियो।
विरोध सभामा नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङका अध्यक्ष शशिभुषण साह र शोभा प्याकुरेलले सरकारको “गलत कर नीति” फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले सरकारले व्यवसायमै टाट पल्टाउने किसिमका नीति ल्याएको आरोप लगाए।
विरोधमा अगुवाको भूमिका निर्वाह गर्नेहरूमा नेपाल सुन–चाँदी व्यवसायी महासंघ कोशी प्रदेश समितिका प्रदेश सदस्य महेशकुमार साह स्वर्णकार, संघका सल्लाहकार किशन तोदी, जुगल किशोर राठाी, र महासचिव कमलेश अग्रवाल रहेका छन्।
व्यवसायीहरूले करको भारले ग्राहकसमेत प्रभावित हुने भएकाले यसको प्रत्यक्ष असर आम नागरिकमा पर्ने बताएका छन्। उनीहरूले सरकारले यथाशीघ्र कर नीतिमा पुनर्विचार गर्नुपर्ने माग दोहोर्याएका छन्।
सरकार र व्यवसायीबीच संवादको वातावरण बन्न नसकेको अवस्थामा आन्दोलन कति लामो समयसम्म जाने हो भन्ने अझै स्पष्ट छैन।