असार १५ : खेतमा धान रोप्दै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

विराटनगर । प्रत्येक वर्षझैं आज असार १५ गते ‘राष्ट्रिय धान दिवस’ देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। किसानले खेतमा धान रोपेर, असारे भाका गाउँदै र परम्परागत रूपमा दही चिउरा खाएर यो दिवस मनाउँदै आएका छन्।

धान दिवसका अवसरमा कृषक खेतमा जुटेर रमाइलो वातावरणमा छुपुछुपु हिलोमा धान रोप्ने र आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन लिने गरेका छन्। असारमा एकपटक खेतको हिलोमा पस्नैपर्ने सामाजिक मान्यता रहेको छ।

धान दिवस मनाउने क्रममा विशेष रूपमा दही चिउरा खाने चलन छ। कामको चटारोमा थकित किसानले शक्ति सञ्चयका लागि दही चिउरा खाने परम्परा रहेको छ। यसले शरीरमा शीतलता दिने र स्वास्थ्यवर्द्धक मानिने विश्वास रहिआएको छ।

नेपालको संस्कृतिमा दहीको धार्मिक र सांस्कृतिक महत्व विशेष छ। शुभकार्यको सुरुवातमा दही–अक्षता मुछेर निधारमा टीका लगाइन्छ भने घरबाट निस्कँदा पनि सगुनको रूपमा दही खुवाउने परम्परा छ।

वैज्ञानिक र आयुर्वेदिक दृष्टिले पनि दही लाभदायक
आयुर्वेदका अनुसार भोजनपश्चात मथिएको दही (मोही) सेवन गर्दा पाचन प्रणाली सुधारिने र स्वास्थ्यसम्बन्धी समस्याबाट जोगिन सकिने विश्वास गरिएको छ। “भोजनान्ते पिबेत् तक्रं, वैद्यस्य किं प्रयोजनम्” भन्ने आयुर्वेदिक भनाइ पनि प्रसिद्ध छ।

पखाला लागेका बेला पनि दही चिउरा औषधिजस्तै उपयोगी मानिन्छ। यसैले दही चिउरा खाने परम्परा नेपाली समाजमा गहिरो रूपमा स्थापित भएको हो।

२०६२ सालदेखि मनाउन थालिएको राष्ट्रिय धान दिवस
कृषिप्रधान देश नेपालमा धान मुख्य खाद्यान्न भएकोले सन् २००४ (वि.सं. २०६१) मा मन्त्रिस्तरीय निर्णयमार्फत २०६२ सालको असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

धान उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो दिन विशेष रूपमा मनाइन्छ। आजको दिन किसान, कृषि विज्ञ र सरकारी निकायहरूबीच सहकार्य हुने गर्छ।

यस वर्ष रोपाइँ प्रभावित
यो वर्ष असारको मध्यसम्म पनि देशभर पर्याप्त वर्षा नहुनु र कतिपय ठाउँमा रासायनिक मल अभाव हुनुका कारण अपेक्षित धान रोपाइँ हुन सकेको छैन। किसानहरूले मल अभावको गुनासो गरिरहे पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने देशभर पर्याप्त मलको मौज्दात रहेको दाबी गरेको छ।

यद्यपि, वर्षा र मल आपूर्तिमा चुनौती रहे पनि किसानहरूको उत्साह र परम्परागत हर्षोल्लासले आजको दिनलाई पुनः एक पटक उत्सवको रूपमा स्थापित गराएको छ।