स्थानीय तहका रोजगार संयोजकहरुका लागि दुई दिने तालिम सुरु
विराटनगर । रोजगार सेवा केन्द्रका कर्मचारी र सुरक्षित आप्रवासन (सामी) जिल्ला संयोजकसँगको अन्तरक्रिया तथा तालिम विराटनगरमा सुरु भएको छ ।
संघीय सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्नुभयो । वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने सावधानी तथा न्यायमा सहजीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा बुझाइमा एकरुपता रहोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सामी मोरङ जिल्लाका कार्यक्रम संयोजक दीपक राउतले जानकारी दिनुभयो । रोजगार संयोजकहरुले सम्बन्धित स्थानीय तहमा वैदेशिक रोजगारीमा जानेहरुलाई समस्या नहोस् भनेर कार्य गर्दै आएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि सीप सिकेर जान सके कम दुःख हुने र पैसा पनि बढी कमाइ हुने बताउनुभयो । वैदेशिक रोजगारीका नाममा ठगीका घटना बढ्दै गएको चर्चा गर्दै उहाँले वैदेशिक रोजगारीमा जानेहरुलाई सचेतनासमेत आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा ३ सय १३ वटा ठगीका उजुरी परेको जानकारी दिनुभयो । उजुरी परेकामध्ये १३६ वटा उजुरीमाथि छानबिन गरी टुंगो लगाएको उहाँको भनाइ थियो । प्रजिअ यादवले वैदेशिक रोजगारीका नाम ठगिएका व्यक्तिहरुलाई सम्बन्धित व्यक्तिबाट ७ करोडभन्दा बढी फिर्ता गराउन सफल भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष ५ हजार ८७३ जनालाई परामर्श सेवासमेत प्रदान गरेको जानकारी दिनुभयो । कार्यक्रममा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका उपसचिव शम्भुप्रसाद साहले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष कोशी प्रदेशबाट १ लाख ४० हजार जना वैदेशिक रोजगारीमा गएकामा चालु आर्थिक वर्षको जेठसम्म २ लाख ६० हजार युवा वैदेशिक रोजगारीका लागि विदेश गएको सामी कार्यक्रमको कोशी–मधेस प्रदेशकी व्यवस्थापक कोपिला दाहालले जानकारी दिनुभयो ।
हरेक वर्ष वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै गएको उहाँको भनाइ थियो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरी, रोहित विश्वकर्मा तथा सामी मोरङ जिल्लाका कार्यक्रम संयोजक दीपक राउतले सहजीकरण गर्नुभएको छ । कार्यक्रममा मोरङका १७, सुनसरीका १२ र झापाका दुई स्थानीय तहका ३१ जना रोजगार संयोजकहरुको सहभागिता रहेको छ ।