आज फूलपाती भित्राइँदै, दशैंको रौनक बढ्दै

विराटनगर। बडादशैंको सातौं दिन आज घर–घरमा फूलपाती भित्राइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले फूलपाती भित्राउन विशेष साइत आवश्यक नपर्ने जनाएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन नवपत्रिका (फूलपाती) दुर्गा भवानीको आराधनाका लागि पूजाघरमा भित्र्याउने परम्परा छ । यस अन्तर्गत उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षलाई नवदुर्गाका प्रतीकका रूपमा राखिन्छ ।

काठमाडौंको हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती विशेष परम्पराअनुसार भित्र्याइनेछ । गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका पुजारीले ल्याउने र त्यसपछि ब्राह्मण पुजारीमार्फत काठमाडौंसम्म पु¥याइने प्रचलन रहिआएको छ । राजधानीमा फूलपाती निजामती सेवाका अधिकारी, सेनाको गुर्जु पल्टन, पञ्चेबाजा, सांस्कृतिक झाँकीसहित भित्र्याउने परम्परा यसपालि पनि दोहोरिनेछ ।

आजैदेखि दशैंको चहलपहल देशभर बढ्ने गर्दछ । सरकारी कार्यालयहरूमा बिदा सुरु भएसँगै परिवारसहित टीका थाप्न गाउँ फर्किनेको भीड बढेको छ । काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ भने गाउँघरमा लिङ्गे पिङ, रोटे पिङ र चङ्गा–उडाउने परम्पराले दशैंको रौनक थपिएको छ ।

Add a Comment