सुनसरीमा‌ आफ्नै स्कुल बसले किच्दा तीन वर्षीय बालकको मृत्यु

विराटनगर । सुनसरीको गढी गाउँपालिकामा स्कुल बसको चपेटामा परेर एक तीन वर्षीय बालकको ज्यान गएको छ। गढी गाउँपालिका–६ मा मंगलबार अपराह्न भएको दुर्घटनामा गढी–३ छिटाहा निवासी तीन वर्षीय आयुष उराउको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले बालकलाई किचेको हो।

प्रहरीका अनुसार स्कुल छुटेपछि आयुष बस चढेर घर फर्कँदै थिए। तर, बसबाट ओर्लने क्रममा उनी अचानक चिप्लिएर बसको पछाडिको चक्कामुनि परे। बसको चक्काले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनापछि बस चालक विनोदकुमार मेहता, गढी–३ का स्थानीय बासिन्दा, फरार भएका छन्। प्रहरीले चालकको खोजी कार्य तीव्र पारेको जनाएको छ।

मृतक बालकका आफन्त तथा स्थानीय बासिन्दाले चालकको लापरवाहीकै कारण दुर्घटना भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले दोषी चालकलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।