दयाहाङ र प्रकाश सपूतको पहिलो सहकार्य, ‘मिरमिरे’ को छायांकन सुरु

विराटनगर। अभिनेता दयाहाङ राई र गायक तथा अभिनेता प्रकाश सपूतले पहिलो पटक एकैसाथ अभिनय गर्ने फिल्म ‘मिरमिरे’ को छायांकन सुरु भएको छ।

एक साता लामो वर्कसपपछि निर्माण टिमले शनिबार काभ्रेको पनौती नगरपालिका–११ स्थित लड्केश्वर आधारभूत विद्यालयमा क्यामेरा पूजा गर्दै छायांकन थालनी गरेको हो।

यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको यो फिल्मको सम्पूर्ण छायांकन काभ्रेका विभिन्न रमणीय स्थलहरूमा ३५ दिनको सेड्युलमा हुनेछ।

मुख्य कलाकारमा दयाहाङ र प्रकाशसँगै सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतको अभिनय रहनेछ। त्यस्तै, बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।

फिल्मको कथा निर्देशक यम शेर्पा आफैंले लेखेका हुन् भने छायाँकारमा आलोक शुक्ला रहेका छन्।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्ममा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ सह–निर्माताको भूमिकामा छन्। कार्यकारी निर्माता भने वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल रहेका छन्।

यार्सा फिल्म्स को प्रस्तुति रहने ‘मिरमिरे’ यही वर्ष प्रदर्शनमा आउने तयारीमा छ। यद्यपि, प्रदर्शन मिति भने हालसम्म सार्वजनिक गरिएको छैन।

Add a Comment