‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेदेखि प्रदर्शनमा, प्रवासमा रहेका नेपालीको कथा बोल्ने चलचित्र
विराटनगर। नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यसहित निर्माण गरिएको नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।
फिल्मले विश्वभर छरिएर रहेका नेपालीहरूको जीवन, भावना र पहिचानका विषयलाई समेट्ने प्रयास गरेको छ। प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, र संस्कृति बचाइराख्ने नेपालीहरूको कथामा आधारित फिल्मले दर्शकको भावना र संवेदनालाई छोने अपेक्षा गरिएको छ।
चलचित्रको लेखन तथा निर्देशन नर प्रधानले गरेका हुन्। निर्देशक प्रधानका अनुसार यो फिल्मले विशेषगरी प्रवासमा रहेका नयाँ पुस्तालाई नेपाली कला, साहित्य, र संस्कृति सम्बन्धी जानकारी दिन सहयोग पुर्याउनेछ।
फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारलगायत कलाकारहरूको अभिनय रहेको छ।
सांस्कृतिक चेतना र राष्ट्रिय पहिचानको विषय उठान गर्ने यो फिल्म नेपाली दर्शकमाझ सकारात्मक सन्देश र भावनात्मक सम्बन्ध स्थापित गर्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।