आजदेखि तुलसीको विशेष पूजा सुरु, चार महिने चतुर्मास व्रत आरम्भ

विराटनगर। आज आषाढ शुक्ल एकादशी, सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा तुलसीको बिरुवा सारेर विशेष पूजा आराधना सुरु गर्दै छन्। यो दिनलाई हरिशयनी एकादशी पनि भनिन्छ, जसबाट चतुर्मास व्रत आरम्भ हुन्छ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा रोपिएको तुलसीको बिरुवा आज घरको मोठमा सारिने प्रचलन छ। वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ, र आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको नियमित पूजा गरिन्छ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यो दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान् विष्णुको शयनकाल चार महिना लामो हुने भएकाले यस अवधिलाई चतुर्मास भनिन्छ।

एक वर्षमा २४ वटा एकादशी पर्ने भए पनि सबैमा व्रत बस्न नसक्नेहरूका लागि चतुर्मासअन्तर्गत पर्ने ८ वटा एकादशी, विशेष गरी हरिशयनी एकादशी र हरिबोधिनी एकादशी, महत्वपूर्ण मानिन्छन्। यस अवसरमा व्रत बस्ने, फलाहार गर्ने र चामलजन्य परिकारहरू त्याग गर्ने परम्परा छ।

आज बिहानैदेखि बूढानीलकण्ठ, चार नारायण मन्दिरहरू र देशभरका विष्णु तथा नारायण मन्दिरहरूमा श्रद्धालुको भीड लागेको छ। भक्तजनहरूले तुलसीको पूजन गर्दै विष्णु भजन, पाठ तथा ध्यानमा समय बिताएका छन्।

वैज्ञानिक दृष्टिले समेत तुलसीको महत्व विशेष मानिएको छ। तुलसीको उपस्थितिमा वातावरण शुद्ध हुने, रोग फैलाउने कीटाणु नष्ट हुने र शुद्ध अक्सिजन प्राप्त हुने वैज्ञानिक प्रमाणहरू छन्। साथै, वास्तु दोष निवारणमा पनि तुलसीको मोठ राख्नाले सकारात्मक ऊर्जा मिल्ने विश्वास गरिन्छ।

चार महिने पूजापछि कार्तिक शुक्ल एकादशी, अर्थात् हरिबोधिनी एकादशीका दिन तुलसीको भगवान् दामोदरसँग विवाह गरिन्छ। विवाहपछि अग्निस्थापनसहित हवन गरेर चतुर्मास व्रतको समापन गरिन्छ।

Add a Comment