‘सिटामोल’ सिनेमा प्रचारमा व्यस्त, टिजर र गीतले दर्शकमा उच्च उत्साह जगायो
विराटनगर । साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘सिटामोल’ हाल प्रचारप्रसारमा व्यस्त छ। गत शनिबार ‘कमेडी नाइट वीथ च्याम्पियन’ मा पुग्दै सिनेमाको टोलीले प्रचार अभियानलाई तीव्र बनाएको छ। टिम विभिन्न मिडिया हाउसमा उपस्थित भई दर्शकहरूसम्म पहुँच बढाउने प्रयासमा जुटिरहेको छ।
सिनेमाको टिजर र गीत सार्वजनिक भइसकेका छन्। विशेषगरी, ‘झुम्का कानैमा’ बोलको गीत र गत साता सार्वजनिक गरिएको टिजरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेका छन्। दुबै सामाग्रीले सामाजिक सञ्जालमा १० लाखभन्दा बढी भ्युज पाइसकेका छन्।
दर्शकहरू विशेषगरी टिजरमा देखिएको सौगात मल्ल र बेनिशा हमालको केमेष्ट्रीप्रति आकर्षित देखिएका छन्। टिजरको कमेन्टबक्समा उनीहरूको अभिनयको प्रशंसा गर्दै ‘झ्यानाकुटी’ पछि पुनः पर्दामा देखिन लागेको यो जोडीप्रति उत्साहजनक प्रतिक्रिया आएका छन्।
निर्देशक राज बहादुर साने भन्छन्, “गीत र टिजरबाट पाइएको सकारात्मक प्रतिक्रियाले अब आउने प्रचार सामाग्री—थप गीत र ट्रेलर—अझ उत्कृष्ट दिनुपर्ने चुनौती थपिएको छ।”
निर्माताद्वय भुगोल कार्की र विकासराज जोशी पनि दर्शकको अपेक्षा अझ बढेको भन्दै ट्रेलर र नयाँ गीतलाई परिष्कृत ढंगमा सार्वजनिक गर्ने तयारीमा रहेको बताएका छन्।
सिनेमा ‘सिटामोल’ ले बिम्बात्मक नेपाल, नेपाली जनजीवन र समाजमा गढिएको कुसंस्कारको चिरफार गर्न खोजेको बताइएको छ। निर्देशक र निर्माताको भनाइ अनुसार सिनेमाले सामाजिक यथार्थ उतार्दै दर्शकको मन जित्ने प्रयास गरेको छ।
सौगात र बेनिशासँगै सिनेमामा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको पनि अभिनय छ। श्रीकृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका हुन्।