दुई हप्तापछि विराटनगरका सुन–चाँदी पसल पुनः सञ्चालनमा
विराटनगर। दुई हप्तादेखि बन्द रहेका विराटनगरका सुन–चाँदी पसल शुक्रबारदेखि पुनः खुलेका छन्। व्यवसायीको आन्दोलनलाई सम्बोधन गर्दै सङ्घीय सरकारले साझा कार्यदल गठन गरेपछि पसल पुनः सञ्चालनमा आएका हुन्।
नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङका अध्यक्ष शशिभुषण साहका अनुसार, व्यवसायीको मागप्रति सरकार संवेदनशील बनेको र ६ बुन्दे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको जानकारी दिए।
देशभरका सुन–चाँदी व्यवसायीले असार २६ गते बिहीबार काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गरिरहेका बेला सरकार र व्यवसायीका प्रतिनिधिहरुलाई समेटेर साझा कार्यदल गठन गरिएको हो। कार्यदलले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा गरिएको कर वृद्धि परिमार्जन गर्न मस्यौदा तयार पार्नेछ, जसलाई मन्त्रीपरिषदबाट निर्णय गरिनेछ।
यसअघि बजेटमार्फत सरकारले सुनको प्रत्येक गहनामा २ प्रतिशत विलासी कर, हिरा तथा महँगा पत्थर जडान गरिएका गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट), र सुन आयातमा १० प्रतिशत भन्सार महसुल लागु गरेको थियो। व्यवसायीहरुले कर वृद्धिले आफ्नो व्यवसाय चौपट हुने भन्दै बन्द घोषणा गर्दै सडक आन्दोलनमा उत्रिएका थिए।
नेपाल सुन–चाँदी व्यवसायी महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा संघ विराटनगर मोरङका अध्यक्ष शशिभुषण साह, महासंघका प्रदेश सदस्य महेशकुमार साह स्वर्णकार, संस्थापक अध्यक्ष जुगल किशोर राठी, किशन तापडिया र विजय राठी अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेका थिए।
सरकारसँगको सहमति अनुसार कर संरचना पुनरावलोकन हुने भएपछि व्यवसायीले आन्दोलन स्थगित गर्दै पसल सञ्चालनमा ल्याएका हुन्।