कटहरीबाट ३१ क्विन्टलभन्दा बढी गाँजा बरामद, मोरङमा हालसम्मकै ठूलो परिमाण

विराटनगर । मोरङको कटहरीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। शनिबार मध्यराति कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकमा चेकजाँचको क्रममा प्रहरीले ३ हजार १ सय ५० किलो (३१ क्विन्टल ५० किलो) गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार को १ ख ४५१८ नम्बरको ट्रक शंकास्पद देखिएपछि चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो। प्रहरी चौकी कटहरीबाट खटिएको वरिष्ठ सई भीम खड्का नेतृत्वको टोलीले राति १२ बजेतिर उक्त ट्रकलाई रोकेर खानतलासी गर्दा ट्रकमा लोड गरिएको बन्दागोभीको बोराले छोपिएको १०५ बोरा गाँजा भेटिएको हो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले दिएको जानकारीअनुसार, प्रहरीले ट्रक रोकेलगत्तै चालक फरार भएका थिए। गाँजा उत्पादन भएको स्थान र यसको गन्तव्य यकिन नभए पनि प्रहरीको अनुमान अनुसार उक्त गाँजा पहाडी जिल्लाबाट ल्याएर भारत तर्फ तस्करी गर्न खोजिएको हुनसक्छ।

हाल ट्रकसहित गाँजा जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ र फरार चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। यस घटनालाई लिएर थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार, मोरङबाट एकैपटक बरामद भएको यो हालसम्मकै सबैभन्दा ठूलो परिमाणको गाँजा हो। यसअघि असार २५ गते धनपालथान गाउँपालिका–१ मा उखुबारीबाट ८ सय २ किलो गाँजा बरामद गरिएको थियो।

गाँजाको अवैध कारोबार नियन्त्रण गर्न मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ। नेपाल–भारत सीमा क्षेत्रलगायत तस्करीका सम्भावित रुटहरूमा निगरानी कडा पारिएको प्रहरीको भनाइ छ।

सुरक्षा सतर्कता र निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाउन प्रहरीले विशेष अपरेसन सञ्चालन गरिरहेको जनाएको छ।

Add a Comment