सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–९, राजाबासस्थित सप्तकोशी नदीमा आज (आइतबार) एक बालक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा भोक्रहा नरसिंह गाउँपालिका–१ निवासी रामविलास मेहताका ११ वर्षीय छोरा दिपेश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिएका छन्।

प्रारम्भिक जानकारी अनुसार, दिपेश आज दिउँसो आफ्ना तीन जना साथीसँग नदीमा नुहाउन गएका थिए। तर, दुई जना साथी सुरक्षित रूपमा फर्किए पनि दिपेश भने बेपत्ता भएका हुन्।

हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य जारी राखेको डीएसपी खतिवडाले बताएका छन्।

स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य तीव्र पारिएको छ।

Add a Comment