‘सुम्निमा’ को जोडी बन्दै कुन्साङ

विराटनगर। सिनेमा ‘बिर बिक्रम’, ‘लिली बिलि’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’, ‘अञ्जिला’ जस्ता फरक फरक जनराको सिनेमा निर्देशन गरेर आफूलाई अब्बल निर्देशकको रूपमा प्रमाणित गरिसकेका निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने लभ स्टोरी जनराको सिनेमा ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन्।

अभिनेता कुन्साङ बमजनले मिलन चाम्सको सिनेमामा काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा हो र यो सिनेमालाई आफ्नो डेब्यु सिनेमाको रूपमा आफूले दिलो ज्यानले मेहनत गरेर आफूलाई प्रमाणित गर्ने बताएका छन्। ‘सुम्निमा’ ले बमजनको करियरमा इट्टा थप्ने आशा गर्न सकिन्छ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने सिनेमाको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि सिनेमा विशुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए। सिनेमाको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्ध भइसकेकी छन्। सिनेमाका अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। निर्देशक चाम्सका अनुसार, युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यान राख्दै यो सिनेमा तयार पारिनेछ।

राजीव थापाको लेखनमा बन्न लागेको सिनेमाको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताइएको छ। चाम्स द्वारा निर्देशित सिनेमा ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गरेको छ। बायोपिक सिनेमामा सबैभन्दा बढी व्यापार गर्ने रेकर्ड पनि ‘अञ्जिला’ ले बनाएको छ।