‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ धार्मिक नभई सामाजिक कथा रहेको निर्माणपक्षको प्रष्टोक्ति
विराटनगर । नाम सुन्दा धार्मिक जस्तो लागे पनि ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ धार्मिक नभई सामाजिक कथा रहेको निर्माणपक्षले स्पष्ट पारेको छ।
सिनेमाको सुरुवाती नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ राखिए पनि पछि विवादमा नफस्न भनेर “बाहुन” शब्द हटाएर “मान्छे” राखिएको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए।
“हाम्रो सिनेमा धार्मिक होइन, यो सामाजिक कथा हो। विषयसँग जोडिँदा ‘जनै’ शब्द आएको हो। तर अनावश्यक विवादमा पर्न नचाहेकाले नाम परिवर्तन गरेका हौँ,” उनले भने।
मानवीय सम्बन्ध र त्यसका उतारचढावलाई केन्द्रमा राखेर बनेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारको अभिनय रहेको छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डिओपी र कृष्ण परियारको सिनेमाटोग्राफीमा छन्। चलचित्रको कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका हुन्।