महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको कार्यकक्षामा खुकुरी फेला
विराटनगर।विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको कार्यकक्षाबाट दुई थान खुकुरी फेला परेको छ।
स्ववियु सभापति रोहित यादवको कार्यकक्षको दराजभित्र मंगलबार बिहान दुई वटा खुकुरी फेला परेपछि सुरक्षाका दृष्टिले प्रहरीलाई खबर गरिएको थियो। घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक अप्रिल चापागाईको नेतृत्वमा आएको टोलीले उक्त हतियार नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार खुकुरी कसरी कार्यकक्षमा पुग्यो भन्ने विषयमा अहिलेसम्म कुनै स्पष्टता आएको छैन।
स्ववियु सभापति रोहित यादवले कार्यकक्षको दराजमा खुकुरी फेला परेको घटनाप्रति आफू अनभिज्ञ रहेको बताएका छन्। उनले भने, “मलाई योबारे केही जानकारी छैन। कसैले जानाजान राखिदिएको हुन सक्छ।”
प्रहरी स्रोतका अनुसार खुकुरीको फरेन्सिक परीक्षण र घटनाको स्रोत पहिचान गर्न थप अनुसन्धान भइरहेको छ। क्याम्पस प्रशासनले समेत घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ।