गुन्यो चोलो’को गीतमा नाजिरको अलग अवतार, भदौ १३ गते चलचित्र रिलिज हुने
विराटनगर। नेपालको ट्रान्सजेन्डर समुदायको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमा गुन्यो चोलो आगामी भदौ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। मङ्गलवार काठमाडौंमा आयोजित कार्यक्रममा पहिलो गीत म फूल हुँ कि काँडा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरिएको हो।
सिनेमामा नायक नाजिर हुसेनले पारालैंगिक महिलाको चुनौतीपूर्ण भूमिका निभाएका छन्। सार्वजनिक गीतको भिडियामा उनी बेहुलीझैँ सजिएर महिलाको पहिरनमा नाचिरहेको देखिन्छन्। उनको भावभङ्गीमा महिला जस्तो कोमलता त झल्किएको छ, तर अनुहारमा भने पीडाका गहिरा लहरहरू स्पष्ट देखिन्छन्। यो भूमिकाका लागि उनले झण्डै १६ किलो तौल घटाएका थिए।
कमल राईको कोरियोग्राफी रहेको गीतमा नाजिरसँगै सुशील सिटौला, उत्तम केसी, स्व. सानु ताम्राकार र शिशिर राणालगायतले अभिनय गरेका छन्। लेखु सहयात्रीको शब्द र संगीतमा मनीषा पोखरेलको स्वर रहेको यो गीतले सिनेमाको कथा झल्क्याउने कोशिस गरेको छ।
समुन्द्र भट्टको निर्देशनमा बनेको सिनेमामा नाजिरकी आमाको भूमिकामा सञ्चिता लुइँटेल र दिदीको भूमिकामा पत्रकार निशा बजगाईं देखिने छन्। विशाल पहारी, अनुपम श्रेष्ठलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। सिनेमाको कथा निर्देशक भट्ट र नाजिरले संयुक्त रूपमा लेखेका हुन् भने छायांकन आलोक शुक्लाले गरेका छन्।