‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर युट्युब ट्रेन्डिङमा, दर्शकको उल्लेखनीय उत्साह
विराटनगर ।आगामी भदौ ६ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को आधिकारिक टिजर युट्युबको ट्रेन्डिङ सूचीमा प्रवेश गर्दै चौथो स्थानमा उक्लन सफल भएको छ ।
गत मंगलबार सार्वजनिक गरिएको टिजरले छोटो समयमै उल्लेखनीय दर्शक संख्या बटुल्दै चर्चा कमाइरहेको छ । समाचार तयार पार्दासम्म टिजरले १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ ।
सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गर्न सफल टिजरले दर्शकको ठूलो उत्सुकता र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । युट्युबमा दर्शकहरूले विजय बरालको दमदार अभिनयको खुलेर प्रशंसा गर्दै चलचित्रको विषयवस्तुप्रति चासो देखाएका छन् । धेरै दर्शकहरूले चलचित्रमा उठान गरिएको कोरियाको कथा समसामयिक र मन छुने रहेको प्रतिक्रिया दिएका छन् ।
हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रले एक साधारण नेपाली युवाको सपना, संघर्ष र सम्बन्धका गहिरा पाटोलाई प्रस्तुत गर्छ । टिजरमा विजय बराललाई पुरोहित बाबुको इच्छाविपरीत कोरिया जाने सपना बोकेर सहर छिरेको महत्त्वाकांक्षी युवकको भूमिकामा देखाइएको छ । सहरको चुनौतीपूर्ण जीवनशैली, नयाँ प्रेमको सुरुवात र गाउँमा छाडिएकी दिदीसँगको भावनात्मक द्वन्द्वले चलचित्रको कथा मार्मिक हुने संकेत गर्छ ।
टिजरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगरलाई पनि मुख्य भूमिकामा प्रस्तुत गरिएको छ, जसले चलचित्रमा त्रिकोणात्मक प्रेमको द्वन्द्व रहने अनुमान गर्न सकिन्छ ।
चलचित्रमा विजय, केकी र मिरुनाका अलावा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, र भावना खपांगी मगरको पनि अभिनय रहनेछ । भानुभक्त ढकालको कथा, पटकथा र संवादमा आधारित चलचित्रलाई पेपरक्लिप ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् ।
कार्यकारी निर्माता रूपमा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन संलग्न छन् ।
प्राविधिक पक्षमा शाहिल खानको टिजर–ट्रेलर सम्पादन, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, तथा लक्ष्मणराज पौडेल निर्माण नियन्त्रकका रूपमा रहेका छन् ।
चलचित्रको वितरण जिम्मा गोविन्द शाहीको काफिया फिल्म्सले लिएको छ ।
‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बरालको मुख्य भूमिकामा पुनः आगमन भएको यस चलचित्रलाई वर्षको बहुप्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ ।