रंगेली नगरपालिकाले ल्यायो ९६ करोडको बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

विराटनगर। दक्षिणपूर्वी मोरङको रंगेली नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९६ करोड ४० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको नगरसभाबाट सर्वसम्मत पारित बजेटमा बहुवर्षीय अधुरा योजनाहरूलाई निरन्तरता दिँदै कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ।

नगरसभाका सभाध्यक्षसमेत रहेका नगर प्रमुख दिलिप बगडीयाले उपप्रमुख भूमा पराजुलीलाई नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए। उपप्रमुख पराजुलीले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ ४८ करोड ८१ लाख, पुँजीगततर्फ २४ करोड ५९ लाख र सामाजिक सुरक्षा भत्तातर्फ २३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन्।

चालु खर्चअन्तर्गत रंगेली अस्पतालको व्यवस्थापन, किसानको सिँचाइ मिटर बिल, सडक बत्तीको बिल, अति विपन्न परिवारका लागि निःशुल्क बीमा, साथै स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाको पारिश्रमिकसमेत समेटिएको छ।

बजेट विवरणअनुसार:

आर्थिक विकासतर्फ: ४१ करोड १६ लाख

सामाजिक विकासमा: १२ करोड २ लाख

पूर्वाधार विकासतर्फ: २२ करोड १ लाख

उद्योग प्रवर्द्धनमा: २८ लाख

सञ्चार तथा सूचना प्रविधिमा: ९७ लाख ५० हजार

सुशासन प्रवर्द्धनमा: ७२ लाख

विपद् व्यवस्थापनमा: ७० लाख

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा: ३१ करोड ७ लाख

अन्य कार्यक्रमहरूमा: १ करोड ४५ लाख

सामाजिक सुरक्षा भत्ता: २३ करोड रुपैयाँ छुट्याइएको छ।

नगर प्रमुख बगडीयाले बजेट प्रस्तुतिपछि भने, “योजनाकै लागि योजना बनाइएको होइन। पहिलाका अधुरा योजना पूरा गर्ने गरी बजेट ल्याइएको हो।”

नगरसभाको अवसरमा पहिलोपटक शिक्षक, कर्मचारी तथा सञ्चारकर्मीहरूलाई सम्मानसमेत गरिएको थियो। नगरपालिकाले आगामी वर्ष विकास निर्माण र सामाजिक सेवा विस्तारमा सन्तुलन कायम गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।