नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु
विराटनगर । आर्थिक वर्ष २०८२/८३ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रत्येक वर्ष साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्षअनुसार यस वर्ष पनि नयाँ आर्थिक वर्ष प्रारम्भ भएको हो।
सरकारले वि.सं. २०१८ सालदेखि साउन महिनाबाट सुरु भई आगामी असार मसान्तमा समाप्त हुने गरी आर्थिक वर्षको व्यवस्था लागू गर्दै आएको हो। यो समयावधि भित्र सबै तहका सरकारी योजना, बजेट तथा राजस्व संकलन र खर्चका कार्यक्रमहरू सञ्चालन गरिन्छ।
नयाँ आर्थिक वर्षसँगै तीन तहका सरकार (संघ, प्रदेश र स्थानीय) द्वारा प्रस्तुत बजेटको कार्यान्वयन पनि आजदेखि सुरु भएको छ। यस वर्षको बजेटले लक्षित गरेका विभिन्न विकास योजना, सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम, पूर्वाधार निर्माण लगायतका कार्यहरू आजदेखि लागू हुनेछन्।
यस्तै, कर तथा शुल्क संरचनामा भएको परिवर्तन पनि आजदेखि कार्यान्वयनमा आएको छ। सरकारद्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएका विलासिता कर, भन्सार शुल्क, उपभोग कर, जरिवाना दरहरू लगायतका केही नयाँ व्यवस्था आजदेखि लागु भइसकेका छन्।
विशेषगरी, आयकर, मूल्य अभिवृद्धि कर (VAT), र सेवाशुल्कसम्बन्धी अद्यावधिक दरहरू राजस्व कार्यालय, भन्सार तथा बैंकमार्फत लागु हुने जनाइएको छ।
राजस्व प्रणालीमा पारदर्शिता, खर्चमा अनुशासन र विकासमा प्रभावकारिता ल्याउने उद्देश्यसहित सरकारले नयाँ आर्थिक वर्षको सुरुवात गरेको हो।
यसैबीच, आर्थिक वर्षको पहिलो दिन सरकारी कार्यालयहरूमा नयाँ खाताहरूको सञ्चालन, बजेट शीर्षकहरू अद्यावधिक, र योजनाको प्राथमिकता निर्धारण लगायतका तयारी कार्य तीव्र रूपमा भइरहेको छ।