‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक : वैदेशिक रोजगारीको पीडामय यथार्थलाई सजीव चित्रण

विराटनगर । श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘रियाल रिङ्गेट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको यस ट्रेलरले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपरेका कठिनाइ, संकट र संवेदनशील अवस्थालाई मार्मिक ढंगमा प्रस्तुत गरेको छ।

ट्रेलरमा नेपाली युवाहरू आतङ्ककारी समूहद्वारा अपहरणमा परेको, बन्धक बनाईएको, र परिवारजनसँग सम्पर्कविहीन अवस्थाको कथा देख्न सकिन्छ। चलचित्रका प्रमुख पात्र प्रमोद चौलागाईंको कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण भइरहेका दृश्यहरूले दर्शकको मन चसक्क पार्छ।

निर्देशक विभोर पोखरेलका अनुसार ‘रियाल रिङ्गेट’ हरेक नेपाली परिवारको कथा हो। ट्रेलर सार्वजनिक गर्दै उनले भने, “यो सिनेमा कल्पना होइन, वास्तविकता हो। यसले नेपाली युवाहरूले विदेशमा भोग्ने पिडा, संघर्ष र साहसलाई पर्दामा उतार्ने प्रयास गरेको छ।”

फिल्मको नाम ‘रियाल रिङ्गेट’ प्रतीकात्मक छ। ‘रियाल’ खाडी मुलुकहरूको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको। यी दुवै देश नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य भएकाले शीर्षकले नै कथा बोलेको छ।

फिल्ममा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा देखिएका छन्। उनीहरूका साथमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल र विमला गिरीको अभिनय रहेको छ।

प्रदीप भारद्वाजको लेखनमा बनेको फिल्मको द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, छायाङ्कन हरि घले, सम्पादन विपिन मल्ल, ब्याकग्राउन्ड स्कोर किरण तुलाधर, र कोरियोग्राफी राजीव समरले गरेका छन्। फिल्मको प्राविधिक पक्षलाई समेत बलियो बनाइएको देखिन्छ।

सिनेमाका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीले सङ्गीत भरेका छन्। सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वर रहेको गीतहरूमा शब्द अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका छन्।

फिल्मको छायाङ्कन काठमाडौं, चितवन, लेटाङ र भारतको राजस्थानमा गरिएको हो। सिनेमा काफिया फिल्म्सद्वारा वितरण गरिनेछ।

सिर्फ मनोरञ्जनको लागि नभई सामाजिक सन्देश बोकेको ‘रियाल रिङ्गेट’ श्रावण १६ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मले विदेशिएका नेपाली श्रमिकहरूको आवाज उठाउने अपेक्षा गरिएको छ।
भिडियो हेर्नुहोस:-

Add a Comment