नेपाल अग्रवाल सभाद्वारा आयोजित ‘बृहत सामाजिक छलफल तथा अन्तरक्रिया कार्यक्रम’ भव्य रूपमा सम्पन्न
विराटनगर। नेपाल अग्रवाल सभाको आयोजनामा ‘बृहत सामाजिक छलफल तथा अन्तरक्रिया कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न आमन्त्रित संस्था तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले सामाजिक एकता, संस्कृति संरक्षण र युवाहरूको मार्गदर्शनमा महत्वपूर्ण योगदान दिएको देखिएको छ।
कार्यक्रममा आमन्त्रित संस्थाहरूमा मारवाड़ी सेवा समिति, माहेश्वरी समाज, जैन श्वेताम्बर तेरापन्थ सभा, नेपाल मारवाड़ी ब्राम्हण समाज, मारवाड़ी महिला मंच, माहेश्वरी महिला मंच, तेरापन्थ महिला मण्डल, नेपाल मारवाड़ी ब्राम्हण महिला मंच, मेड क्षेत्रीय स्वर्णकार महिला मंच, मारवाड़ी युवा मंच, माहेश्वरी युवा मंच, तेरापन्थ युवक परिषद्, नेपाल मारवाड़ी ब्राम्हण युवा मंच तथा मेड क्षेत्रीय स्वर्णकार युवा मंचजस्ता प्रतिष्ठित संघसंस्थाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल अग्रवाल महिला मञ्च, नेपाल अग्रवाल युवा मञ्च, नेपाल अग्रवाल कन्या मञ्च तथा राजकुमार अग्रवाल प्रमुख सहयोगीका रूपमा रहेका थिए। छलफलका मुख्य विषयहरूमा शिक्षा तथा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि, मारवाड़ी भाषा र संस्कृतिको संरक्षण तथा संवर्धन, सामाजिक विकृतिहरूको निराकरण, संस्थाबीच समन्वय र सहकार्य लगायतका समसामयिक मुद्दाहरू समेटिएका थिए।
नेपाल अग्रवाल सभाका अध्यक्ष राजकुमार अग्रवालले कार्यक्रमको उद्देश्य समाजको समग्र उत्थान, भाषा र संस्कृतिको प्रवर्द्धन, तथा सामाजिक विकृतिहरू विरुद्ध जागरूकता फैलाउने रहेको जानकारी दिए। उनले उपस्थित संस्थागत प्रतिनिधिहरूबाट प्राप्त सुझाव तथा सल्लाहहरूलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता समेत जनाए।
महासचिव राजेश अग्रवालले कार्यक्रम युवालाई सकारात्मक मार्गतर्फ डो¥याउने उद्देश्यका साथ आयोजना गरिएको बताए। उनले युवाको सक्रियता र सही दिशा प्रदान गर्न समाज प्रतिबद्ध रहेको उल्लेख गरे।
नेपाल अग्रवाल महिला मञ्चकी प्रतिनिधि वर्तिका खेतानले युवालाई विशेष प्राथमिकता दिइएको र उनीहरूको धारणा कार्यक्रममा प्रस्तुत हुन पाउनु सकारात्मक पक्ष भएको बताइन्।
नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष चेतन अग्रवालले युवाले आफूलाई परिवर्तन गरेमा समाज र देश परिवर्तन हुने धारणा राख्दै यो व्यक्तिगत नभई सामूहिक विकासको अभियान भएको बताए।
कार्यक्रममा देवकी नन्दन अग्रवाल, वेनी गोपाल मुन्दडा ,पवन सुराना लगायत समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनु कार्यक्रमको आकर्षण रहेको थियो।