९ औं कराँते च्याम्पियन्स इन्डिया च्यालेञ्ज कपमा सहभागिता जनाउन विराटनगरका खेलाडी भारत प्रस्थान

विराटनगर। भारतको कोलकातामा आयोजना हुने ९ औं कराँते च्याम्पियन्स – इन्डिया च्यालेञ्ज कप प्रतियोगितामा सहभागी हुन विराटनगरस्थित च्याम्पियन्स कराँते एकेडेमीको टोली बिहीबार भारत प्रस्थान गरेको छ।

प्रतियोगितामा काता र कुमुते विधामा १६ जना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। खेलाडीहरूलाई प्रस्थान गर्नुअघि विराटनगर लेडिज सर्कल ५ संस्थाले ट्र्याकसुट वितरण गर्दै उत्साहजनक शुभकामना प्रदान गरेको थियो।
त्यसैगरी कंचनवारी डोजो का संचालक चन्द्र पराजुली र 2PM noodles कम्पनी मार्फत अनिस जाजुले पनि टि सर्ट प्रदान गरे।

च्याम्पियन्स कराँते एकेडेमीका कोच तथा सञ्चालक सुरज कामतका अनुसार टोलीले प्रतियोगिताको लागि राम्रो तयारी गरेको छ। उनले भने, “हारजित आफ्नो ठाउँमा हो, तर हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नयाँ अनुभव बटुल्नेछन्, जुन उनीहरूको भविष्यका लागि महत्वपूर्ण हुनेछ।”

प्रतियोगिता कोलकातास्थित नेताजी इन्डोर स्टेडियममा जुलाई २५ देखि २७ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल, भारत, मलेसिया, इन्डोनेसिया, श्रीलंका, ओमान, युएई र भुटानका खेलाडीहरूको सहभागिता रहनेछन्।

१४ वर्ष र माथिका खेलाडीहरूबीच हुने ओपन काता प्रतिस्पर्धामा प्रथम स्थानलाई रु १०,०००, दोस्रो स्थानलाई रु ७,००० र तेस्रो स्थानलाई रु ५,००० पुरस्कार प्रदान गरिनेछ। यस्तै, कुमुते ब्याटलको प्रथम पुरस्कार रकम रु ३ लाख तोकिएको छ।

उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजक कराँते मास्टर हान्सी प्रेमजित सेन रहेका छन्। नेपाली टोलीले देशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।