‘कोशेढुङ्गा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले जित्यो दर्शकको मन, ४२ देशमा रिलिज हुने तयारी
विराटनगर । सरोज पौडेल निर्देशित नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ ले सार्वजनिक भएको केही समयमै दर्शकको मन जित्न सफल भएको छ। नेपाली तीजको मौलिकता र आधुनिक प्रस्तुतिको समिश्रणसहित तयार पारिएको यो गीत अहिले सामाजिक सञ्जालमा अत्यन्तै भाइरल बनेको छ।
निर्देशक पौडेलका अनुसार गीत रिलिज भएको छोटो समयमा नै २० हजारभन्दा बढी टिकटक भिडियोहरू निर्माण भइसकेका छन्। युट्युबमा १० लाखभन्दा धेरै भ्युज प्राप्त गरेको उक्त गीतलाई फेसबुकमा ७० लाखभन्दा बढी दर्शकले हेरेका छन्।
“नेपाली संस्कृति जोगाउँदै सभ्य र भव्य गीत पस्किने हाम्रो उद्देश्य थियो,” निर्देशक पौडेलले भने, “हामीलाई आशा गरेजस्तै दर्शकको प्रतिक्रिया सकारात्मक छ, दैनिक हजारौँ भिडियोहरू बनिरहेका छन्।”
गीतमा विवाहित र अविवाहित महिलाहरूको जीवनप्रति रहेको दृष्टिकोण कलात्मक रुपमा प्रस्तुत गरिएको छ। सुरक्षा पन्त र नीति शाह अविवाहित पात्रको कल्पना र उत्सुकताको प्रतिनिधित्व गर्छन् भने ऋचा शर्मा विवाहित जीवनको प्रेमभावनालाई गीतमार्फत अभिव्यक्त गर्छिन्।
गीतको शब्द नेत्र अर्यालको रहेको छ भने हुकलाइन, संगीत तथा मुख्य स्वर खेम सेन्चुरीको छ। उनलाई समीक्षा अधिकारी र दिपिका बयम्बु मगरले साथ दिएका छन्।
निर्माण टिमले गीत लोकप्रिय बनेसँगै टिकटक प्रतियोगिता पनि सुरु गरेको छ, जसमा सहभागीहरूले #नत्र_भने_जिन्दगी_व्यर्थ_छ ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। प्रतियोगितामा:
बेस्ट पर्फमेन्स: रु ३०,०००
मोस्ट क्रियटिभ भिडियो: रु २०,०००
मोस्ट लाइक भिडियो: रु १०,०००
दिइनेछ। प्रतियोगितामा अगस्ट २० (भदौ ४) सम्म भाग लिन सकिनेछ।
चलचित्र ‘कोशेढुङ्गा’ भदौ १२ गतेदेखि नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। डायस्पोरामा नेपाली चलचित्रको इतिहासमै पहिलो पटक यति धेरै देशमा एकैसाथ प्रदर्शन हुन लागेको हो।
सारंगी फिल्मस् र नरदेवी फिल्मस्को संयुक्त प्रस्तुति रहेको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ।
चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। छायांकन बाबु श्रेष्ठ, सम्पादन नहकुल खड्का, संगीत आशिष अविरल र रिदम कँडेलको रहेको छ। कास्टिङ निर्देशक सुवलमणि सापकोटा हुन्।
चलचित्रको अन्तर्राष्ट्रिय वितरण सेभेन सिज इन्टरनेसनल मार्फत प्याट्रिक सुवेदी र रमेश ढकालले गर्नेछन्। निर्माण टिमले चलचित्रले नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छ।