भोटेकोशीमा एक्कासि पानीको बहाव बढ्दा सतर्कता अपनाउन प्रशासनको आग्रह, चिनियाँ सडक बगायो

विराटनगर । चीनको तिब्बत क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा एक्कासि पानीको बहाव बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको जलसतह बढेसँगै चिनियाँ पक्षले निर्माण गरिरहेको सडक, रसुवागढी नाकाको संरचना तथा टिमुरेस्थित भन्सार यार्ड समेत प्रभावित भएको छ।

बुधबार बिहान २ बजेदेखि भोटेकोशी नदीमा बहाव तीव्र रुपमा बढेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए। “नदीमा बहाव बढेकाले हामीले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना जारी गरिसकेका छौँ,” उनले भने।

बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज निर्माणका लागि बनाउँदै गरेको सडक बगाएको छ भने टिमुरेमा रहेको भन्सार यार्डको धर्मकाँटा पनि बाढीले बगाएको अधिकारीले जानकारी दिए। मंगलबार राति रसुवा क्षेत्रमा वर्षा भए पनि बुधबार बिहानदेखि मौसम खुलेको भए पनि माथिल्लो तिब्बती क्षेत्रमा परेको पानीले नदीमा बहाव बढेको अनुमान गरिएको छ।

रसुवाबाट निस्कने त्रिशूली नदीमा पनि जलसतह बढेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। आकस्मिक बाढीको जोखिम रहेको भन्दै तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

यसअघि सोमबार पनि रसुवा प्रशासनले सूचना जारी गर्दै भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलाहरूमा बाढीको सम्भावना रहेको भन्दै सतर्क रहन अनुरोध गरेको थियो।

जल तथा मौसम विज्ञान विभाग तथा चिनियाँ जलप्रवाह निगरानी निकायबाट प्राप्त सूचना अनुसार आगामी दिनमा पनि माथिल्लो क्षेत्रमा भारी वर्षाको सम्भावना रहँदा नदीमा बहाव अझै बढ्न सक्ने चेतावनी दिइएको छ।

प्रशासनले स्थानीय तहहरू, सुरक्षा निकाय तथा जोखिममा परेका वडाहरूलाई आपतकालीन तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

यसअघि असार २४ गते आएको बाढीले भोटेकोशी आसपासको क्षेत्रमा नेपाल र चीन दुवै देशमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। त्यस घटनाबाट पाठ सिक्दै यसपटक उच्च सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।