इलामको सन्दकपुरमा चैत २०–२३ सम्म तेस्रो रेडपाण्डा महोत्सव हुँदै

विराटनगर । इलामको सन्दकपुर गाउँपालिकामा तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको छ। चैत २० देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सव वन, वन्यजन्तु तथा प्राकृतिक वातावरणमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

महोत्सवले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणबारे समुदायमा सचेतना फैलाउनुका साथै हिमाली क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ। विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आयोजक समितिका संयोजक सनम राईले रेडपाण्डा संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए।

उनका अनुसार सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र माईपोखरीदेखि ढापपोखरी हुँदै जौबारीसम्म जोड्ने ४३ किलोमिटर लामो “रेडपाण्डा पदमार्ग” को प्रवर्द्धनका लागि यसअघि दुई संस्करणको महोत्सव आयोजना भइसकेको छ। करिब ११ करोड रुपैयाँ लागतमा पाँच वर्ष लगाएर निर्माण गरिएको यस पदमार्ग क्षेत्रमा रेडपाण्डासहितका लोपोन्मुख वन्यजन्तु र सयौँ प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ।

गाउँपालिका अध्यक्ष तुलाराम गुरुङका अनुसार पदमार्ग भित्र रहेका १५ भन्दा बढी पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउनु महोत्सवको मुख्य उद्देश्य हो।

सन्दकपुर क्षेत्रमा रेडपाण्डा अवलोकनका लागि विश्वभरबाट पर्यटकहरू पुग्ने गरेका छन्। विश्व रामसार सूचीमा सूचीकृत माईपोखरी, प्राकृतिक ‘ग्रेटवाल’ मानिने छिन्टापू, सन्दकपुर हुँदै जौबारीसम्म फैलिएको पदमार्गमा नेपाल र भारतका पर्यटन व्यवसायीहरूको सहभागितामा महोत्सव सञ्चालन गरिनेछ।

चार दिनसम्म चल्ने महोत्सवमा सहभागी पर्यटकहरूले आदिवासी जनजातिका सांस्कृतिक कार्यक्रम, सिमसार क्षेत्र, पोखरीहरू, प्राकृतिक दृश्यावलोकन, सगरमाथासहित ६० भन्दा बढी हिमश्रृङ्खलाको दृश्य, चराचुरुङ्गी तथा रेडपाण्डा अवलोकनसँगै पदयात्राको अनुभव लिन सक्नेछन्।

महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। प्रचारप्रसारका लागि विराटनगर, झापा (काँकरभिट्टा), पोखरा, काठमाडौँ लगायत स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेका छन् भने भारतको सिलिगुडीमा पनि प्रचार कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

Add a Comment