देशभर मनसुनी प्रभाव : मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानको केही उत्तरतर्फ सरेको छ, जसको असरस्वरूप देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।

आइतबार बिहानैदेखि सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ। विशेष गरी मधेश प्रदेशका सबै आठ जिल्लामा वर्षा भइरहेको महाशाखाको वेबसाइटमा उल्लेख छ।

दिउँसो देशभर सामान्यतया आकाश बदली रहनेछ। यस अवधिमा सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

रातिको पूर्वानुमान अनुसार पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी लगायतका तराईका धेरै भू-भागहरूमा तथा पहाडी क्षेत्रका केही स्थानहरूमा राति पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

त्यस्तै, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रहरूमा भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

Add a Comment