सप्तकोसीमा पानीको बहाव उच्च, कोसी ब्यारेजका २३ ढोका खोलिए, रातो बत्ती बालियो

विराटनगर । लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च बनेको छ। आइतबार साँझ (साउन १८) कोसी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको थियो।

आज (सोमबार) बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर प्रतिसेकेन्ड १ लाख ७५ हजार ६८५ क्युसेक पानी बगिरहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल थापाले जानकारी दिए। उच्च बहावका कारण ब्यारेजका ५२ मूल ढोका र ४ नहरसहित ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएको छ।

कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार, ब्यारेज हुँदै प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी पानी बहन थालेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था गरिएको छ। हाल सोही अनुरूप रातो बत्ती बालिएको छ, जसले स्थानीय बासिन्दालाई सतर्क रहन सूचना दिन्छ।

यसअघि २०६५ साल भदौ २ गते, कोसीमा प्रतिसेकेन्ड १ लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा पूर्वी तटबन्ध भत्किएको थियो। त्यस घटनाले ठूलो जनधनको क्षति गरेको थियो। सोही घटनाबाट पाठ सिक्दै यसपटक स्थानीय प्रशासन उच्च सतर्कताका साथ व्यवस्थापनमा जुटेको बताइएको छ।

सप्तकोसी आसपासका बासिन्दालाई अत्यधिक सजग रहन र आवश्यक परे सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ। नदी किनार क्षेत्रका बासिन्दालाई बाढीको जोखिम उच्च रहेको भन्दै सुरक्षाका उपाय अवलम्बन गर्न अनुरोध गरिएको छ।

Add a Comment