कक्षा १२ पूरक परीक्षा भदौ २८ र २९ गते हुने, आवेदन खुला

विराटनगर। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ।

बोर्डका अनुसार गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरू मध्ये सैद्धान्तिक विषयमा न्यूनतम एम ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका विद्यार्थीहरू, तर अधिकतम दुई विषयमा एनजी (NG) प्राप्त गर्ने, दुई विषयमा अनुपस्थित हुने, वा एउटै विषयमा एनजी वा अनुपस्थित हुने अवस्थाका विद्यार्थीहरू मात्र पूरक परीक्षामा सहभागी हुन योग्य हुनेछन्।

परीक्षा भदौ २८ गते शनिबार र भदौ २९ गते आइतबार, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ।

बोर्डले पात्र विद्यार्थीहरूलाई तोकिएको समयमा आवेदन फारम बुझाउन अनुरोध गर्दै विस्तृत जानकारीका लागि परीक्षा बोर्डको वेबसाइट वा सम्बन्धित विद्यालयमार्फत सम्पर्क गर्न सकिने जनाएको छ।