धानखेतमा दुई पुरुष मृत फेला: उर्लाबारी र बेलबारीका छुट्टाछुट्टै घटनामा प्रहरीको अनुसन्धान जारी
विराटनगर। मोरङ जिल्लाको उर्लाबारी र बेलबारी क्षेत्रका धानखेतमा दुई पुरुषको शव फेला परेका छन्। प्रहरी अनुसार दुवै घटनाको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान जारी रहेको जनाइएको छ।
उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान आफ्नै घरको आँगनसँगै जोडिएको धानखेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीका अनुसार उनको दायाँ नाकबाट रगत बगेको थियो र हातखुट्टा कक्रिएको अवस्थामा भेटिएको छ। प्रारम्भिक जानकारीमा मृत्युको कारण स्पष्ट नभएपनि अनुसन्धानका लागि शवलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर उर्लाबारीमा पोस्टमार्टमका लागि पठाइएको छ।
घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बरालको नेतृत्वमा भइरहेको छ।
त्यसैगरी, बेलबारी नगरपालिका–७, गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेवको शव पनि सोमबार साँझ ६:३० बजेतिर आफ्नै धानखेतमा फेला परेको हो। प्रहरीले जानकारी दिएअनुसार युरिया मल छर्न भनेर घरबाट निस्किएका ऋषिदेवको शव पनि घोप्टो परेको अवस्थामा भेटिएको हो।
घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा भइरहेको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ।